पलाँता गाउँपालिकाका तत्कालिन उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसहित १० जना विरुद्ध मुद्दा

 

काठमाडौं । कालिकोट जिल्लाको पलाँता गाउँपालिकाका तत्कालिन उपाध्यक्ष दाना न्यौपाने र निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर बम विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

कालीकोटको पलाँता गाउँपालिकामा सडक निर्माणका क्रममा भ्रष्टाचार गरेको अभियोगमा तत्कालीन जनप्रतिनिधि, कर्मचारी र उपभोक्ता समितिका पदाधिकारीसहित १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको हो ।

अख्तियारले आर्थिक वर्ष २०७५/०७६ मा ‘बेलकेढुङ्गा–लेखनवाडा वडा कार्यालय–दुर्सी पागोटी’ सडक निर्माणका क्रममा अनियमितता भएको फेला पारेपछि विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आयोगले दिएको जानकारी अनुसार ४० लाख रुपैयाँ बजेट विनियोजन भएको उक्त सडक योजनामा १,२०० घनमिटर ग्याभिन जाली भर्ने कार्य भएको भनी नापी किताब र कार्य सम्पन्न प्रतिवेदन तयार पारिएको थियो। सोही प्रतिवेदनका आधारमा गाउँपालिकाले उपभोक्ता समितिलाई ३८ लाख रूपैयाँ भुक्तानी समेत दिइएको थियो।

तर, अख्तियारको प्राविधिक टोलीले स्थलगत नापजाँच गर्दा फिल्डमा जम्मा ९३९.५० घनमिटर मात्र काम भएको पाइएको थियो । प्रतिवेदनमा उल्लेख भएभन्दा २६०.५० घनमिटर कम काम गरी झुटो बिल भरपाई बनाएर ८ लाख ८ हजार ६८० रुपैयाँ ५७ पैसा बढी भुक्तानी लिने–दिने कार्य गरेको अख्तियारको दाबी छ । 

अख्तियारले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर बम, तत्कालीन लेखा अधिकृत खिमलाल पुन, तत्कालीन सहायक लेखापाल मुनी प्रसाद प्याकुरेल, तत्कालीन सव–इन्जिनियरद्वय विनोद कुमार बम र नन्द बहादुर सिंहसहितका कर्मचारी विरुद्ध मुद्दा दायर गरेको छ ।

यस्तै, जनप्रतिनिधिहरुमा तत्कालीन उपाध्यक्ष दाना न्यौपाने र वडा नं.९ का वडाध्यक्ष टक्कबहादुर बम र उपभोक्ता समितिका अध्यक्ष कुम्भबहादुर बम, कोषाध्यक्ष सुलक्षणा बम र सचिव कमलबहादुर बम विरुद्ध पनि मुद्दा दायर गरेको छ ।

अख्तियारले उनीहरूबाट ८ लाख ८ हजार ६८० रुपैयाँ ५७ पैसा बिगो असुल उपर गर्न र कानुन बमोजिम सजाय गर्न मागदाबी लिएको छ।

 

प्रकाशित मिति: बुधबार, साउन ६, २०८३  १७:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update