काठमाडौँ । बर्दिया जिल्लाको राजापुर नगरपालिकाले नगरबासीलाई निःशुल्क वितरण गरिने औषधि तथा सर्जिकल सामाग्रीहरूको सहज आपूर्तिका लागि खरिद प्रक्रिया अगाडि बढाएको छ।
चालु आर्थिक वर्ष २०८३/०८४ का लागि आवश्यक औषधिजन्य सामाग्रीहरू खरिद गर्न इजाजतप्राप्त आपूर्तिकर्ता, विक्रेता तथा व्यवसायीहरूबाट शिलबन्दी दरभाउपत्र आह्वान गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ बुढाले जानकारी दिए ।
सार्वजनिक खरिद अनुगमन कार्यालयको इ–प्रक्योरमेन्ट प्रणाली मार्फत अनलाइन दरभाउपत्र पेस गर्न सकिने गरी नगरपालिकाले सूचना पनि प्रकाशित गरेको छ।
नगरपालिकाका अनुसार इच्छुक दर्तावाल फर्म वा कम्पनीले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र सार्वजनिक खरिद अनुगमन कार्यालयको वेबसाइटमार्फत फाराम डाउनलोड गरी ई–बिडिङबाट पेस गर्नुपर्नेछ।आठौँ दिनको दिउँसो १२ बजेसम्म अनलाइनमार्फत दरभाउपत्र दर्ता गराइसक्नुपर्ने नगरपालिकाले जानकारी दिएको छ ।
दरभाउपत्र सोही दिन (आठौँ दिन) दिउँसो १ बजे नगर कार्यपालिकाको कार्यालय, राजापुरमा बोलपत्रदाता वा तिनका प्रतिनिधिहरूको रोहवरमा खोलिनेछ। सो दिन सार्वजनिक बिदा परेमा कार्यालय खुलेको लगत्तै पहिलो दिन सोही समयमा खोलिने नगरपालिकाले जानकारी दिएको छ ।
औषधि खरिद गर्दा अनिवार्य रूपमा विश्व स्वास्थ्य संगठनको असल उत्पादन अभ्यास प्रमाणित कम्पनीबाट उत्पादित औषधिहरू मात्र स्वीकार गरिने छ भने नगरपालिकामा औषधि बुझाउँदाका बखत औषधिको म्याद गुज्रिन कम्तीमा १८ महिना बाँकी हुनुपर्नेछ।
व्यवसायीले आफू खरिद कारबाहीमा अयोग्य नभएको र कालोसूचीमा नपरेको स्वघोषणा पत्र अनिवार्य संलग्न गर्नुपर्नेछ।
दरभाउ पत्र बुँझाउँदा ९५ हजार ३० रुपैयाँ धरौटी पनि बुझाउनु पर्ने नगरपालिकाले जानकारी दिएको छ ।



