काठमाडौँ । अहिले सामाजिक संजालदेखि मेनस्ट्रिम मिडियासम्म पोखरा महानगरपालिकाको वडा नम्बर १९ ले गत सोमबार गरेको सार्वजनिक सूचना भाइरल भएको छ ।
सो वडाले बाँदर नियन्त्रणका लागि भन्दै ‘मेरो रुख म काट्छु’ अभियान संचालन गर्ने सूचना प्रकाशन गरेको थियो । रुख काटेर बाँदर नियन्त्रण सम्भव नहुने र उल्टै बन बिनास भएर पर्यावरणीय जोखिम बृद्धि हुने भन्दै यो अभियानको विरोध पनि सुरु भएको छ ।
‘साबिक लामाचौर पुरुन्चौर क्षेत्र बाँदरबाट अति प्रभावित क्षेत्र भएको र हाल प्रदेश सरकारले आव ०८०÷८१ को नीति तथा कार्यक्रममा समेत बाँदर नियन्त्रण सम्बन्धी नीति पास गरेको हुँदा आजको मितिले १० दिनभित्र ‘मेरो रुख म काट्छु’ भन्ने अभियान संचालन गरी आआफ्नो घर वरपर रहेका सम्पूर्ण रुखहरु कटान गरी प्रदेश सरकारको नीति तथा कार्यक्रमलाई सहयोग पुर्याउनको साथै आआफ्नो घर क्षेत्रमा बाँदर नियन्त्रण अभियानमा सहयोग पुर्याउनको लागि वडा कार्यालयको तर्फबाट सम्पूर्ण वडाबासीको लागि यो सूचना प्रकाशित गरिन्छ,’ सोमबार वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले जारी गरेको सूचनामा उल्लेख छ ।
यस्तो सूचना सार्वजनिक भएपछि वडापालिका डटकमले वडाध्यक्ष पाण्डेसँग सम्पर्क गरी रुख काटेर बाँदर नियन्त्रण हुन्छ र भनेर प्रश्न गरेको थियो । उनले तत्कालका लागि अन्य प्राथमिक उपाय नदेखिएकोले रुख काट्ने विकल्प अपनाइएको बताए ।
‘यो क्षेत्रमा बाँदरले कति दुःख दिएको छ भनेर शहर बजारमा बस्नेले यो कुरा बुझ्दैनन् । घरमा खानको लागि पकाएर राखेको भातको कसौडी नै बाँदरले लगिदिन्छ । मान्छेलाई नै आक्रमण गर्न आउँछ । झ्यालै भत्काएर घरभित्र छिर्न थालेको छ । अन्य उपयुक्त विकल्प केही देखिएन त के गर्नु ? यही विकल्प राम्रो हुन्छ कि भन्ने लागेर रुख काट्न लागिएको हो,’ वडाध्यक्ष पाण्डेले वडापालिकासँग भने ।
उनले वडास्तरीय समितिले गरेको निर्णयका आधारमा रुख काट्न लागिएको बताए । यस्तै, सो क्षेत्रका सबै रुख काट्ने नभइ घर छेउका ठूला रुख र बाँसका झ्याङ काट्न लागिएको उनको भनाइ छ ।
‘बाँदरले आक्रमण गर्यो, यस्तो क्षति पुर्यायो भन्दै प्रत्येक दिन कम्तिमा पनि १०÷१२ वडा वडाबासी वडामा आउँनु हुन्छ । अति भएपछि हामीले वडास्तरीय बाँदर नियन्त्रण समिति बनाएका थियौं । त्यो समितिले गरेको निर्णयका आधारमा रुट काट्ने अभियान संचालन गर्न लागिएको हो । अहिले पनि सिफारिस लिएर सम्बन्धित व्यक्तिहरुले रुखहरु काटिरहनु भएको छ । त्यसलाई अभियानकै रुपमा संचालन गर्ने र घर छेउका ठूला रुख र बाँसका झ्याङ काट्ने भनेर यो अभियान संचालन गर्न लागिएको हो, घर छेउका ठूला रुख र बाँसका झ्याङ काटेपछि बाँदर धपाउन सजिलो हुन्छ,’ उनले भने ।
बाँदर नियन्त्रणका लागि चालु आर्थिक वर्षमा सो वडाले ३ लाख रुपैयाँ बजेट नै विनियोजन गरेको पनि उनले जानकारी दिए । यस्तै, सोही वडामा बाँदर नियन्त्रणका लागि गण्डकी प्रदेश सरकारले १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको उनको भनाइ छ ।
वडाध्यक्ष पाण्डेले वडाको र प्रदेश सरकारको बजेटले जंगल क्षेत्रमा फलफूलका विरुवा रोप्न लागिएको पनि जानकारी दिए । अहिले जंगलमा उत्तिसलगायत हाइब्रिड जातका रुखहरु मात्रै भएकोले खानेकुरा नपाएर बाँदरहरु बस्तीमा पसेकोले जंगलमा फलफूलका विरुवा रोप्न लागिएको उनको भनाइ छ ।
‘पहिला पहिला जंगलमा फलफूल पाइन्थ्यो । बन छेउमा मान्छेले खेतीपाती गर्ने गरेका हुन्थे । अहिले जंगलमा फलफूल पाइन छाड्यो । उत्तिसलगायत हाइब्रिड जातका रुखहरु मात्रै छन् । मान्छेले खेतीपाती पनि गर्न छोडे । गण्डकी प्रदेश सरकार र हाम्रो वडाको बजेटले जंगल क्षेत्रमा लप्सी, तिजु, काफल जस्ता फलफूलका विरुवा रोप्ने कार्यक्रम संचालन गर्दैछौं । जंगलमा नै फलफूल पाइन थालेपछि बाँदरले बस्तीमा पसेर उपद्रो गर्ने क्रम कम हुन सक्ला,’ वडाध्यक्ष पाण्डेले थपे ।






                                        
                                        
                                        
                    
                    