
भक्तपुर । बागमती प्रदेश सरकार अन्तर्गत सामाजिक विकास मन्त्रालय र महांकाल गाउँपालिका ललितपुरको साझेदारीमा सञ्चालित गृहणी महिला सशक्तीकरण कार्यक्रम अन्तर्गत तीनदिने व्यवसायिक सिइताके च्याउ खेती तालिम सम्पन्न भएको छ ।
आर्थिक वर्ष २०८१/०८२ को कार्यक्रमअन्तर्गत मसरुम सीड नेपाल एण्ड रिसर्च सेन्टरको समन्वयमा असार १६ देखि १८ गतेसम्म तालिम मध्यपुरथिमी नगरपालिका–९, निकोसेरा, भक्तपुरमा सम्पन्न भएको हो ।
तालिममा महाकांल गाउँपालिकाका ४० जना गृहणी महिलाहरूको सहभागिता थियो । उनीहरूलाई सिइताके च्याउको व्यावसायिक उत्पादन प्रक्रिया, प्रविधि, बीउ संरक्षण, वातावरण अनुकूलता, बजारीकरणलगायतका विषयमा व्यवहारिक ज्ञान दिइएको थियो ।
कार्यक्रमको उद्देश्य महिलाहरूलाई आत्मनिर्भर बनाउँदै उनीहरूको आर्थिक सशक्तीकरणमा टेवा दिने थियो । तालिमपछि सहभागीहरूले व्यावसायिक रूपमा च्याउखेती गर्न सक्ने आधार तयार भएको महांकाल गाउँपालिका उपाध्यक्ष डोल्मा माया गोलेले बताइन् ।