
काठमाडौँ । ललितपुरको महांकाल गाउँपालिकाले चालु आर्थिक वर्षदेखि ‘शोकमा स्थानीय सरकार’ कार्यक्रम संचालन गरेको छ ।
पालिकामा स्थायी बसोबास गरेका नागरिकको घरमा कसैको मृत्यू भएमा स्थानीय सरकारका प्रतिनिधि नै गएर रकम उपलब्ध गराउने गरी यो कार्यक्रम संचालन गरिएको हो ।
गाउँपालिकाले यसका लागि सबै नागरिकलाई गाउँपालिकामा वा आफ्नो वडा कार्यालयमा शोकबारे जानकारी गराउन भनेको छ । गाउँपालिकाका स्थानीयसँग सामाजिक समवेदना सहित आर्थिक सहयोग प्रदान गर्न यो कार्यक्रम संचालन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्दीप न्यौपानेले जानकारी दिए ।
‘चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा शोकमा स्थानीय सरकार कार्यक्रम राखिएको थियो । यो कार्यक्रमका लागि बजेट पनि विनियोजन भएको छ । र, कार्यक्रम पनि सुरु भइसकेको छ,’ प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले वडापालिकासँग भने ।
सो गाउँपालिकाले नागरिकलाई सामाजिक समवेदनासहित आर्थिक सहयोग गर्न ५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । सो बजेटबाट प्रत्येक परिवारलाई ७ हजार रुपैयाँका दरले आर्थिक सहयोग प्रदान गर्न थालिएको छ ।
कार्यक्रम सुरु भएपनि गाउँपालिकाले अझै पनि यससम्बन्धी कानुन र कार्यविधि बने बनाएको छैन । यसअघि वडा नं. १ को एउटा परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको गाउँपालिकाले जानकारी दियो । अब छिट्टै नै कार्यविधि बनाएर यसलाई थप व्यवस्थित गरिदै लगिने प्रमुख प्रशासकीय अधिकृत न्यौपानले जानकारी दिए ।