काठमाडौँ । नेकपा एमालेको ११औं महाधिवेशनमा गाउँपालिका राष्ट्रिय महासंघमा जोडिएका ६ जना केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।
विभिन्न गाउँपालिकाको जनप्रतिनिधि रहेका उनीहरु नेकपा एमालेको केन्द्रीय सदस्य निर्वाचित भएका हुन् ।
नेकपा एमालेको केन्द्रीय सदस्यमा निर्वाचित खिमबहादुर थापा गाउँपालिका राष्ट्रिय महासंघको महासचिव पनि हुन् । उनी स्याङ्जाको कालिगण्डकी गाउँपालिका अध्यक्ष हुन् ।
यस्तै, सरस्वती चिदी पनि एमालेको केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन् । उनी महासंघकी केन्द्रीय सदस्य हुन् । नवनिर्वाचित केन्द्रीय सदस्य चिदी पाल्पाको वगनाशकाली गाउँपालिकाको अध्यक्ष हुन् ।
एमालेको ११औं महाधिवेशनबाट नवराज ओझा पनि केन्द्रीय सदस्यमा निर्वाचित भए । उनी महासंघ गण्डकी प्रदेश कार्यसमितिको अध्यक्ष हुन् । उनी कास्कीको रुपा गाउँपालिको अध्यक्ष हुन् ।
एमाले केन्द्रीय सदस्यमा निर्वाचित अस्मिता थापा महासंघको कोशी प्रदेश कार्यसमितिको सहसचिव हुन् । ३० वर्षभन्दा कम उमेरकी थापा ओखलढुंगाको लिखु पाउँपालिकाको उपाध्यक्ष हुन् ।
एमाले केन्द्रीय सदस्यमा निर्वाचित मेनुका काफ्ले महासंघको सल्लाहकार हुन् । उनी झापाको कमल गाउँपालिकाको निवर्तमान अध्यक्ष हुन् ।
यस्तै, महासंघको निवर्तमान केन्द्रीय सचिवालय सदस्य प्रेमकुमार राई एमालेको केन्द्रीय लेखा आयोगमा निर्वाचित भएका छन् । उनी भोजपुरको हतुवागढी गाउँपालिकाको अध्यक्ष हुन् । महासंघको अध्यक्ष लक्ष्मीदेवी पाण्डे छन् । उनी नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को हुप्सेकोट गाउँपालिकाको अध्यक्ष हुन् ।







