Odapalika - The Fourth Estate - चौथो अंग
जेनजी आन्दोलनपछि एमालेले पाएको ठूलो अवसरः कार्यवाहक भएर महानगर नेतृत्वमा इन्ट्री

काठमाडौं । भदौ २३ र २४ को जेनजी प्रदर्शनपछि सबैभन्दा बढी राजकीय जिम्मेवारी गुमाएको र सार्वजनिक आलोचना व्यहोरिरहेको नेकपा एमालेलाई काठमाडौँ महानगरको नेतृत्व गर्ने अवसर प्राप्त भएको छ ।

२०७९ को स्थानीय तह निर्वाचनमा देशभरका महानगरको नेतृत्वबाट बन्चित नेकपा एमालेले झण्डै आधा कार्यकाल बाँकी रहदा कार्यवाहक मेयरको जिम्मेवारी पाएको हो ।

काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा चुनाव लड्नको लागि मेयर पदबाट राजीनामा गरेका छन् । उनले उपमेयर सुनिता डंगोललाई राजीनामा बुझाएका हुन् ।

स्थानीय सरकार संचालन ऐन २०७४ अनुसार कुनै कारण मेयर पद रिक्त रहेमा उपमेयर कार्यवाहक जिम्मेवारीमा हुन्छ । यसैकारण मेयर बालेनले राजीनामा गरेपनि सुनिता डंगोल कार्यवाहक मेयर भएकी छन् ।

गत स्थानीय तहमा देशभरका ६ वटा महानगरमध्ये मेयर पदमा एमालले एउटा महानगरमा पनि जित प्राप्त गरेको थिएन । गत स्थानीय तह निर्वाचनमा तत्कालिन नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी जस्ता दल गठबन्धन गरी चुनावमा गएका थिए भने नेकपा एमाले एक्लै चुनाव लडेको थियो ।

जेनजी प्रदर्शनको कारण एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढलेको थियो भने एमाले नेता देवराज घिमिरे सभामुख रहेको प्रतिनिधिसभा पनि विघटन गरिएको छ । जेनजी प्रदर्शनको कारण एमालेले लाभको धेरै पद गुमाउको भएपनि मेयर बालेनले राजीनामा दिएका कारण काठमाडौँ महानगरको कार्यवाहक मेयर पद भने पाएको छ बालेनको तयारी आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने छ । यसैका लागि उनले मेयर पदबाट राजीनामा गरेका हुन् । काठमाडौँ महानगरको उपमेयर सुनिता डंगोल एमालेबाट उम्मेदवार बनेर विजयी भएकी थिइन् ।

बालेनले प्रतिनिधिसभा निर्वाचनमा झापा–५ बाट उम्मेदवार बन्ने तयारी गरेका छन् । सो क्षेत्रबाट एमालेले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई उम्मेदवार बनाउने जनाएको छ । मेयर बालने ओलीलाई परास्त गर्नकै लागि सो क्षेत्रमा चुनाव लड्न जान लागेका हुन् । 

राजीनामा दिएपछि बालेन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय गएका छन् । उनलाई वरिष्ठ नेता बनाउने रास्वपाको तयारी छ । यस्तै, बालेनलाई आगामी सरकारको प्रधानमन्त्री बनाउने रास्वपाले सार्वजनिक गरिसकेको छ । एमालेले पनि केपी शर्मा ओलीलाई आगामी सरकारको प्रधानमन्त्री बनाउने घोषणा गरिसकेको छ । यसैकारण झापा–५ बाट प्रधानमन्त्रीका २ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

प्रकाशित मिति: आइतबार, माघ ४, २०८२  १६:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update