काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी फागुन २१ हुने प्रतिनिधिसभा निर्वाचनको लागि बेग्लै खाता खोल्न उम्मेदवारहरुलाई सहजीकरण गरिदिएको छ ।
राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिदै प्रत्यक्ष तथा समानुपातिक दुबै तर्फका उम्मेदवारले निर्वाचन अवधिभरको लागि बैंक खाता संचालन गर्न पाउने व्यवस्था मिलाउन भनेको हो ।
यस्तो खाता आमनिर्वाचन सम्पन्न भई निर्वाचन आयोगद्वारा निर्णय गरी बैंक खाता बन्द गर्न नलगाउँदासम्म सञ्चालन हुने गरी खोल्ने व्यवस्था गर्न राष्ट्र बैंकले भनेको छ ।
राष्ट्र बैंकले निवार्चन आयोग मातहतका प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयहरुको सिफारिसमा आमनिर्वाचन अभियान समूह (वा यस्तै मिल्दो अन्य कुनै) का नेपाली मुद्राको आम्दानी खर्च कारोबार गर्न सक्ने गरी खाता खोल्न सकिने भनेको छ ।

‘प्रत्येक राजनीतिक दल तथा ती दलबाट प्रतिनिधित्व गर्ने उम्मेदवार (समानुपातिक समेत) एवम् स्वतन्त्र उम्मेदवारहरुलाई छुट्टै एउटा (एक मात्र) बैंक खाता खोली सञ्चालन गर्ने व्यवस्था मिलाउनहुन यो सूचना जारी गरिएको छ,’ राष्ट्र बैंकले भनेको छ ।
राष्ट्र बैंकले एउटै बैंक तथा वित्तीय संस्थाले प्राकृतिक व्यक्तिको नाममा स्वदेशी मुद्रामा एउटै प्रकृतिको एकभन्दा बढी खाता खोल्न नपाइने व्यवस्था गरेको छ । तर, निर्वाचन प्रयोजनका लागि यस्तो व्यवस्थामा छुट दिइएको छ ।
‘बैंक वा वित्तीय संस्थाले प्राकृतिक व्यक्तिको नाममा स्वदेशी मुद्रामा एउटै प्रकृतिको एक भन्दा बढी खाता खोल्न पाइने छैन भन्ने व्यवस्थामा निर्वाचन आयोगबाट उक्त बैंक खाता बन्द गर्न नलगाउँदासम्म छुट प्रदान गरिएको छ,’ राष्ट्र बैंकले भनेको छ ।







