काठमाडौँ । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले घाँसको विउका लागि आवेदन माग गरेको छ ।
पशुपालन व्यवसायमा लागत कम गर्नको लागि नगरपालिकाले घाँसको विउ तथा विरुवा उपलब्ध गराउन लागेको उपमहानगरपालिकाको पशु चिकित्सक डा. सुवाश झाले जानकारी दिए ।
उपमहानगरले घाँसको उपलब्धता बृद्धि गर्न, मासु तथा दुग्ध पदार्थको उत्पादनमा बृद्धि गर्न तथा कृषकको आयस्तरमा बृद्धि गर्नको लागि पशुपालन गर्ने तथा घाँस उत्पादन गर्न इच्छुक कृषक, कृषक समुह, सहकारी तथा फार्महरुलाई घाँसको विरुवा तथा विउ उपलब्ध गराउन लागेको हो । यसका लागि उपमहानगरले फागुन २५ गते सार्वजनिक सुचना प्रकाशन गरी १५ दिनभित्रमा आवेदन दिन पनि भनेको छ ।
यसका लागि आवेदन, लालपुर्जाको प्रतिलिपी साथै अरुको जग्गा भएमा कम्तिमा ५ वर्षको सम्झौता, नागरिकताको प्रतिलिपी, कृषक समुह, सहकारीको हकमा निर्णयको प्रतिलिपी र कृषक समुह, सहकारी र फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपी, आन्तरिक राजस्व तिरेको रसिद र प्यान कार्डको प्रतिपिली समावेश हुनुपर्ने डा. झाले जानकारी दिए । आवेदन पशुपन्छी विकास शाखा सिमरा, पशुपन्छी विकास उपशाखाा बडहर्वा र कन्चनपुरमा दिने सकिने उपमहानगरले जानकारी दिएको छ ।






