काठमाडौँ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बाँदर नियन्त्रण गर्न रुख काट्ने अभियानप्रति आपत्ति जनाएका छन् । सोही महानगरको वडा नम्बर १९ ले बाँदर नियन्त्रणका लागि भन्दै रुख काट्ने अभियान संचालन गर्न लागेपछि मेयर आचार्यको यस्तो टिप्पणी आएको हो ।
पोखरा महानगरपालिका वडा नम्बर १९ का वडाअध्यक्ष पुुष्पेन्द्र पाण्डेले बाँदर नियन्त्रण गर्न भन्दै स्थानीयलाई १० दिनभित्र आफ्नो घर वरपरको रुख काट्न आग्रह गरेका थिए ।
उनले बाँदरले स्थानीयलाई दुःख दिएको भन्दै प्रदेश सरकारले आव ०८०/८१ को नीति तथा कार्यक्रममा अनुसार बाँदर धपाउन रुख काट्ने अभियान सुरु गरिएको जनाएका छन् ।
‘साबिक लामाचौर पुरुन्चौर क्षेत्र बाँदरबाट अति प्रभावित क्षेत्र भएको र हाल प्रदेश सरकारले आव ०८०÷८१ को नीति तथा कार्यक्रममा समेत बाँदर नियन्त्रण सम्बन्धी नीति पास गरेको हुँदा आजको मितिले १० दिनभित्र ‘मेरो रुख म काट्छु’ भन्ने अभियान संचालन गरी आआफ्नो घर वरपर रहेका सम्पूर्ण रुखहरु कटान गरी प्रदेश सरकारको नीति तथा कार्यक्रमलाई सहयोग पुर्याउनको साथै आआफ्नो घर क्षेत्रमा बाँदर नियन्त्रण अभियानमा सहयोग पुर्याउनको लागि वडा कार्यालयको तर्फबाट सम्पूर्ण वडाबासीको लागि यो सूचना प्रकाशित गरिन्छ,’ सोमबार वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले जारी गरेको सूचनामा उल्लेख छ ।
तर, वडाले जारी गरेको उक्त सूचनाप्रति मेयर आचार्यले सामाजिक सञ्जालमार्फत ध्यानाकर्षण भएको जनाएका छन् । उनले बाँदर धपाउन रुख काट्ने निर्णय महानगरले नगरेको भन्दै भ्रममा नपर्नसमेत अनुरोध गरेका छन् । मेयर आचार्यले सो रुख काट्ने अभियान रोकिएको पनि जानकारी दिएका छन् ।
‘आफ्नो रुख आफैँ काटौँ अभियान भनेर रुख काट्न आह्वान गरेको भन्ने सूचना प्रकाशित भएको सन्दर्भमा यस सम्बन्धमा स्थानीय सरकार सञ्चालन ऐनबमोजिम महानगरपालिकाबाट कुनै निर्णय नभएकोले सोसम्बन्धी कुनै पनि कार्य (रुख काट्ने/फाँड्ने) नगर्नू/नगराउनु हुन सम्बधित सबैलाई जानकारी गराइसकिएको छ । भ्रममा नपर्नुहुन अनुरोध छ,’ आचार्यले सामाजिक संजाल फेसबुकमा लेखेका छन् ।
उनको भनाइप्रति सामाजिक संजाल प्रयोगकर्ताहरुले मिश्रित जवाफ दिएका छन् । धेरैले वडाले सुरु गरेको अभियान जायज रहेको बताएका छन् भने केहीले उक्त अभियानको विरोध गरेका छन् ।
याे पनि
बाँदर नियन्त्रण गर्न रुख काट्ने अभियान चलाउने वडाध्यक्ष भन्छन्– शहरमा बस्नेले यो कुरा बुझ्दैनन्






                                        
                                        
                                        
                    
                    